नेपाललाई श्रीलङ्कासँग जाेड्न हुँदैन : पूर्वगभर्नर क्षेत्री

 असार १७, २०७९ शुक्रबार १७:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति आएको उहाँकाे भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै पालिका चुनाव सम्पन्न गरेको र अब सङ्घ र प्रदेशको चुनाव गर्ने तयारीमा रहेकाले श्रीलङ्कासँग जोड्न नहुने बताउनुभयो । 

पूर्वगभर्नर क्षेत्रीले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र धेरै परिस्थितिले श्रीलङ्का हुने स्थिति छैन । तर राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयाे भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न सक्छौँ । त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएकाे कुरामा कसैले चुनाैती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे । आम्दानीको स्रोतहरू घट्यो । खाद आयात गर्न रोके । उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयाे । ब्याज जस्तोसुकै भए पनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाजेको हो । आवश्यकभन्दा बाहिरका वस्तुहरू प्रधानमन्त्रीको जोडबाट आयात भइरहेको भन्ने हल्ला आएको छ । त्यस्तो रह्यो भने हामी पनि श्रीलङ्काको अवस्थामा जान सक्ने सम्भावना रहन्छ ।’

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पत्ति, एसडीआर र जम्मा गरेको सुनको समेत हिसाब गर्दा सात महिनाको आयात धान्न सक्ने अवस्था रहेको बताउनुभयो । 

यसैबीच उहाँले राष्ट्र बैंकले ल्याउने आउँदाे मौद्रिक नीति अपेक्षाकृत नहुने बताउनुभयाे । राष्ट्र बैंकले ल्याउने आउँदाे मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमा उहाँकाे शङ्का छ । बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको उहाँकाे भनाइ छ । 

पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हरेक फाेरममा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रूपमा भनेकाले शङ्का गर्ने स्थिति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा रहेको तरलताको विषय छ । अब मौद्रिक नीति पनि आउँदैछ । मौद्रिक नीति हिजोको जस्तो विस्तारकारी रूपमा आउँछ भन्ने कुरामा शङ्का छ । गभर्नरले हरेक फोरममा अब ब्याजदर बढ्छ भनिरहनुभएकाे छ । उहाँले व्यवहारमा नै देखाउनुभयो, अब बैंकसँग रहेको रकम पनि ट्रेजरी बिलमा जाने सम्भावना भएको हुनाले बैंकिङ निक्षेपमा समस्या रहन्छ । सरकारको बजेटमा नै एउटा भाषा छ– 'इन्डटन मेडिनरी रेट' घटाएर जान्छौँ भन्ने । राष्ट्र बैंकले बढ्छ भनेको छ, सरकारले घटाउनुपर्छ भनेको छ । दोहोरो नीतिको कुरा आएको छ ।’ 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया