ट्रकको ठक्करबाट बालिकाको मृत्यु प्रकरण : क्षतिपूर्ति माग गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द

 असार २०, २०७९ सोमबार १६:३:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया – तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।

बाँकेको कोहलपुर बसपार्क नजिक गएकाे शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज साेमवार भुरीगाउँमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका हुन् ।

उचित राहत, क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतिनिधि, ट्रक व्यवसायी समिति र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा हिजाे आइतवार बेलुकासम्म छलफल भए पनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका फुपू भूमिका वलीले बताउनुभयो ।  

बालिकाको शव नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ, अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन, सहमति नभएसम्म बालिकाको शव नबुझ्ने मृतक बालिकाका आफन्तले जनाएका वलीले बताउनुभयो ।

पीडित पक्षको माग सम्बोधनका लागि फेरि छलफल गर्ने गरी राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट कोहलपुर चौराह आउँदै गरेको प्र.१–०२–०१ ख ९२२९ नम्बरको ट्रकले शनिवार बालिकालाई ठक्कर दिँदा उनकाे घटनास्थलमै ज्यान गएको हो । ट्रक चालक सिरहाको मिर्चैया नगरपालिका ७ का ३१ वर्षीय तिलप्रसाद खतिवडालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया