गठबन्धन सरकार तुरुन्त हटोस्, १ वर्षमा एउटा राम्राे काम गरेन : ओली

 असार २४, २०७९ शुक्रबार १८:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनु भयो । उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरूको थुप्रो भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्ब हट्नुपर्छ । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । विकासका आयोजनाहरू सबै कटौती गरेको छ । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्राे काम गरेन । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनुपर्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताउनुभयो । 

अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप पनि लगाउनुभयो । उहाँले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तःशुल्क तय हुनु देश गम्भीर सङ्कटतर्फ उन्मुख भएको प्रमाण रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गर्नुभयो । उहाँले निहित स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलबाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरीतका काम गरेको बताउनुभयो । अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढङ्गले हत्या गरेको उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले त्याे ड्राफ्ट तयार गरेको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया