बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै, अघिल्लो अर्थिक वर्षमा थपियो १ खर्ब १५ अर्ब

 असार २९, २०७९ बुधबार १६:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - सरकारको बेरुजु रकम  झन्डै ५ खर्ब रुपैयाँ पुगेकाे छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ ।

महालेखाले अघिल्लाे आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु रकम निस्किएको हो ।

सङ्घीय सरकार अन्तर्गतका ३ हजार २ सय ८७ वटा कार्यालयको २८ खर्ब २० अर्ब रुपैयाँको लेखा परीक्षणबाट ४९ अर्ब ४७ करोड, प्रदेश सरकार अन्तर्गतका १ हजार १ सय ३१ वटा कार्यालयको २ खर्ब ९९ अर्ब रुपैयाँको लेखा परीक्षणबाट ७ अर्ब ४८ करोड र पालिकाको  १० खर्ब ५१ अर्ब रुपैयाँको लेखा परीक्षण गर्दा  ४३ अर्ब ९० करोड रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ ।  

यस्तै, गएको आर्थिक वर्षमा लेखा परीक्षण र सम्परीक्षणबाट ४ अर्ब २० करोड रुपैयाँ  असुल भएको छ । अद्यावधिक गरेर टुङ्गो लगाउनुपर्ने रकम गएको ८ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

लेखा परीक्षणका क्रममा कानुनको पालना, स्रोत परिचालन, योजना तथा बजेट तर्जुमा, पूर्वाधार निर्माण, आयोजना व्यवस्थापन, खरिद व्यवस्थापन,  सार्वजनिक प्रशासन र सुशासन,  आन्तरिक नियन्त्रण, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सार्वजनिक संस्थान सञ्चालन लगायतका विषय अध्ययन भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । प्रक्रिया नपुर्याइकन गरिएको खर्चलाई महालेखाले बेरुजु रकम भन्दै आएको छ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया