काठमाण्डौको नागार्जुनमा कुखुराको खोरमा पसेको चितुवाको आक्रमणबाट पाँच जना घाइते, एक जनाको अवस्था गम्भीर

 असार ३०, २०७९ बिहीबार ७:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष सुरजकुमार पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।

‘कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा ठूलो बिरालो पसेको भन्दै आमाबुबालाई बोलाउन घरमा गएका रहेछन्’, उहाँले भन्नुभयो– ‘आमाबुबा खोरमा आउँदा झ्यालमा राखेको जाली भत्किएको देखेपछि बाहिरबाट आमा सरस्वती भट्टराईले जाली बान्न लाग्दा खोरभित्र रहेको चितुवाले हात तानेको थियो । त्यसपछि खोरको ढोका खोल्दा बुबा कुमार भट्टराई र हजुरआमा कान्छी भट्टराईलाई समेत चितुवाले आक्रमण गरेछ ।’ ७७ वर्षकी हजुरआमा कान्छी भट्टराईको टाउको र शरीरभरि घाउ चोट लागेको छ भने हात पनि भाँचिएको छ ।

यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घाइते हुनुभएको छ । घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् । ७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उहाँका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घाइतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा  उपचार भइरहेको हो ।

‘चितुवा खोरबाट भागेको छ तर यहाँ पटक पटक चितुवाले आक्रमण गर्दै आएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो– ‘शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खाल भत्किएपछि जङ्गलबाट आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको छ ।’ चितुवाको जोखिम बढेकाले यसको र रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको पनि वडा अध्यक्ष सुरजकुमार पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया