उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

 असार ३०, २०७९ बिहीबार ११:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराउनु भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङकाे प्रस्ताव र नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरीकाे समर्थनमा उहाँले केहीबेर अघि मनोनयन दर्ता गराउनु भएकाे हाे। 

मनोनयनका लागि अघि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ । त्यसका लागि एमाले अहिले छलफलमा छ ।  

उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद् बैठकमा चुनाव हुनेछ । उपसभामुखमा एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार  बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्था अनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी  भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया