श्रीलङ्कामा १ जना प्रदर्शनकारीको ज्यान गयो, भागेर माल्दिभ्स पुगेका राष्ट्रपति राजापाक्षे सिङ्गापुरमा

 असार ३०, २०७९ बिहीबार १४:३४:३५ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काको राजधानी कोलम्बोमा भएको प्रदर्शनका क्रममा एक जनाको ज्यान गएको छ । यस्तै ८४ जना घाइते भएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा २६ वर्षका एक युवकको ज्यान गएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले हिजो बुधवार प्रधानमन्त्री कार्यालय कब्जा गरेका थिए । 

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेर भागेपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पाउनुभएको छ । राजीनामा दिनुको साटो जिम्मेवार हेरफेर गरिएको भन्दै प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालयबाट भगाउन प्रहरीले अश्रु ग्यास र रबरका गोली चलाएको थियो । प्रदर्शनकारीले सेनाको एउटा राइफल पनि खोसेर लगेका छन् । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ भने ठाउँ–ठाउँमा कर्फ्यु लागेको छ । सहरमा सेना परिचालन गरिएको छ । 

यसैबीच भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुर पुग्नुभएको छ । आफ्नी पत्नी र सुरक्षा गार्डसहित राजापाक्षे साउदी एअरलाइन्सबाट सिङ्गापुर गएको बीबीसी हिन्दीले जनाएको छ । राष्ट्रपति राजापाक्षे थप सुरक्षित स्थान खोज्दै सिङ्गापुर गएको खबरमा उल्लेख छ । अस्ति मङ्गलवार माल्दिभ्स जानुभएका राष्ट्रपतिले हिजो १३ तारिखमा राजीनामा दिने बताए पनि राजीनामा नदिइकन प्रधानमन्त्री विक्रमासिङ्घेलाई नै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिनुभएको हाे । 

प्रदर्शनकारीले राष्ट्रपति भवन पनि कब्जा गरेका छन् । आर्थिक रूपमा टाट पल्टिएको श्रीलङ्कामा औषधिसमेत उपलब्ध हुन छाडेको छ । इन्धन, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव छ । स्कुल–कलेज बन्द रहेका छन्, इन्धन अभावमा यातायात र कलकारखानासमेत ठप्प रहेका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया