फोहरबाट मल बनाउने विषयमा उद्योग समितिको चासो

 असार ३१, २०७९ शुक्रबार १४:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।

समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि रिकिसी कम्पाेस्ट प्रालिकाे प्राविधिक सहयाेगमा कुहिने फोहरबाट गन्धरहित मल बनाइरहेको बताउनुभयो । उहाँले कुहिने फोहर सङ्कलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘भत्तपुरको ठिमीमा फोहर व्यवस्थापनको काम गरिरहेका छाैँ । हामीले फोहरलाई गन्धरहित बनाएर कम्पोस्ट मल बनाइरहेका छौँ । फोहरबाट मल बनाएर प्रयोग गरे अर्गानिक वस्तु उत्पादन गरेर खान सक्छौँ । भक्तपुरले फोहरबाट मल निकालेर २० रुपैयाँमा नागरिकलाई दिइरहेको छ ।’ 

निर्देशक गिरीले यो जापानी प्रविधि भएकाे बताउनुभयाे । यस प्रविधिले प्राङ्गारिक मल गन्धरहित र बिरुवाका लागि पूर्ण पौष्टिक हुने रामेछापको गोकुलगङ्गामा आलु खेतीमा प्रयोग गरेर समेत देखिएको बताउनुभयो । यो मल रासायनिक मल प्रयोग नभएको ठाउँमा रासायनिक मल भन्दा राम्रो हुने उहाँकाे भनाइ छ ।

निर्देशक गिरीले काठमाण्डाै उपत्यकालगायतका ठाउँमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न कुहिने फोहरबाट प्राङ्गारिक मल उत्पादन गर्न सकिने पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया