ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउनमा विदेशी शक्तिको साथ : उपेन्द्र यादव

 असार ३२, २०७९ शनिबार १७:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको पनि उल्लेख गर्नु भयो ।

‘कुनै पनि देशले आफ्नो विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई तय गर्दा भू राजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ । त्यसैले सायद ध्यान दिएर नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ । अब भू राजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन्' उहाँले भन्नुभयो,  'अहिले हामीले हेरिरहेको युक्रेन र रसियाको वार जियो पोलिटिक्सकै महत्वपूर्ण प्रभावले हो । अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथलहरु भू राजनीतिकै प्रभाव हो । नेपालको राजनीतिक अस्थिरता पनि भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन ।’

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो । दुई ठूला छिमेकी देश भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उहाँको भनाई थियो । देशको सार्वभौमिकताको रक्षा गर्न पनि भू राजनीतिले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढ्नुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया