सगरमाथा क्षेत्रकाे भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतले बढ्यो, निकुञ्जको राजस्व ७३ प्रतिशतले वृद्धि

 साउन १, २०७९ आइतबार ९:३७:४९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२  प्रतिशतले पर्यटक आवागमन बढेको हो ।

निकुञ्जको तथ्याङ्क अनुसार आ.व.०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् । जुन सङ्ख्यात्मक हिसाबले २२ हजार १ सय ३९ जनाले बढी हो । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ ।

निकुञ्जको राजस्व सङ्कलन ७४ प्रतिशतले वृद्धि

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा ७४ प्रतिशतले वृद्धि भएको छ ।

गएकाे आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ७४ दशमलव ४३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २१ लाख राजस्व सङ्कलन गरेको निकुञ्जले ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार ९ सय ९९ दशमलव १४ रुपैयाँ सङ्कलन गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयाे । उहाँका अनुसार ०७७/०७८ मा कोभिडका कारण सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व सङ्कलन न्यून भएको थियो । तर ०७८/०७९ मा पर्यटन गतिविधि लयमा फर्किएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टर उडान तथा अवतरणबापत शुल्क लिने गरेका छन् । तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क देशका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ ।

त्यसैगरी तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क देशका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया