गर्मीले युरोपका केही देशको जनजीवन अस्तव्यस्त, पोर्चुगलमा एक हप्तामै २ सय ३८ जनाको ज्यान गयो

 साउन १, २०७९ आइतबार १६:९:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

युरोपका धेरै देशमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी पोर्गुगल, स्पेन र फ्रान्सको जङ्गलमा फैलिएको डढेलोका कारण तातो हावा चल्नुका साथै अत्यधिक तापक्रमले पनि नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । आगो निभाउन हजारौँ अग्नि नियन्त्रक खटिएका छन् तर तातो हावा र सुक्खापनका कारण सहजै आगो निभ्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ । 

आगलागी प्रभावितले यस्तो तीव्र गतिमा फैलिएको डढेलो र गर्मी यसअघि कहिल्यै पनि महसुस नगरेको बताएका खबरमा उल्लेख छ । आगोले फ्रान्सको गिरोन्डे क्षेत्र सखाप पारेको छ । ११ हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्पेनको कोस्टा डेल सोल क्षेत्रको पहाडबाट तीन हजार तीन सय जना मानिस सुरक्षित ठाउँमा भाग्न सफल भएका छन् । डढेलोले फ्रान्समा मात्रै १० हजार हेक्टर वन सखाप पारेको छ । 

यस्तै पोर्चुगलमा मात्रै गर्मीका कारण एक हप्ताभित्र दुई सय ३८ जनाको ज्यान गएको छ । स्पेन र फ्रान्समा ६० जनाभन्दा धेरेको ज्यान गएको छ । सरकारले गर्मीका कारण चट्टान टुक्रिएर खस्न सक्ने भएकाले चट्टानी पहाडतिर नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । गएको हप्तादेखि पोर्चुगलमा अधिकतम तापक्रम ४७ डिग्री तथा फ्रान्स र स्पेनमा ४० डिग्री सेल्सियस पुगेको छ ।  

औद्योगिक युग सुरु भइसकेपछि मात्रै विश्वको तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले बढिरहेको छ । युरोपका अरू देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन् । इटलीका केही उपत्यकालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै आपत्काल घोषणा गरेको छ । उत्तरी मोरक्कोमा आगो फैलिएपछि दर्जनौ गाउँ खाली गर्नुपरेको छ । मानव प्रेरित जलवायु परिवर्तनको ठूलो असर युरोपले भोगिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया