सीसीटीभीको गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुन्छ : प्रदीप ज्ञवाली

 साउन २, २०७९ सोमबार ११:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनु भएको छ ।

काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करकाे दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुने उहाँको भनाइ छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो । यस्तै, एमाले नेता ज्ञवालीले  कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाउनु भएको छ ।  उहाँले कालो धनलाई सेतो बनाउनकै लागि अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाउने काम भइरहेको दाबी गर्नुभएको हो ।

ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर देश गइरहेको पनि दाबी गर्नुभयो । उहाँले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम नागरिकको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको समेत आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया