म लामाे समय सरकारमा बस्ने मन्त्री हाेइन : जीवनराम श्रेष्ठ

 साउन २, २०७९ सोमबार १५:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न आवश्यक रहेकाे बताउनुभएको छ । 

आज सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेकाे अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर त्यसलाई नियन्त्रण गर्ने योजना रहेको बताउनुभयो । 

मन्त्री श्रेष्ठले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन, कानुन निर्माण गर्न भने लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौँ । म लामो समय बस्ने मन्त्री होइन । तर सुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निष्कर्ष निस्कन्छ । सुरु नै भएन भने अगाडि बढ्दैन ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिनुभयो । उहाँले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरूको ब्रोसरहरु बोकेर, हवाई उडानमा खर्च गरेर अहिलेको आधुनिक र प्रविधिकाे समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गर्नुभयो । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरूको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले सरकारले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो । उहाँले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिकता नपरेर सहुलियत तथा छुटसमेत नपाउँदा पर्यटन उद्योग धराशाही बनेको दाबी गर्नुभयो । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरेमात्रै याे उद्योगलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रूपमा स्थापना गर्न सुझाव दिनुभयो । उहाँले पर्वतारोहणसम्बन्धी सेवा सुविधाहरू एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताउनुभयो । अध्यक्ष लामाले साहसिक विभिन्न खेलहरूका लागि हिमालय आरोहणसमेत खुला गर्न मागगर्नुभयो । उहाँले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले पर्यटकका लागि काठमाण्डाैमा लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले त्यसकाे व्यवस्थापन तत्काल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकारले गर्नुपर्ने विभिन्न कामका लागि सुझाव दिएका थिए । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया