घानामा पहिलाे पटक मारबर्ग भाइरस देखा परेकाे पुष्टि

 साउन २, २०७९ सोमबार १८:३३:५७ | एजेन्सी
unn.prixa.net

अफ्रिकी देश घानामा पहिलो पटक मारबर्ग भाइरस देखापरेको पुष्टि भएको छ । इबोला समूहको उच्च सङ्क्रामक मानिने यो भाइरस दुई जनामा पुष्टि भएको हो । दुवै जना सङ्क्रमितको दक्षिणी अशान्ट क्षेत्रको एउटा अस्पतालमा ज्यान गएको बीबीसीले जनाएको छ । दुवै जनाबाट सङ्कलित नमुनामा सङ्क्रमण पुष्टि भएको हो । ती दुई जनासँग सम्पर्कमा रहेका ९८ जना अहिले क्वरेन्टीनमा रहेका छन् । 

मारबर्ग भाइरसका लागि अहिलेसम्म कुनै पनि उपचार उपलब्ध छैन । तर प्रशस्त पानी पिउने र सङ्क्रमणबाट देखिएका लक्षणहरूको उपचार गर्दा बिरामीहरू बाँच्ने सम्भावना बढ्ने डाक्टरहरूको भनाइ छ । यो भाइरस एक खाले चमेरोबाट मानिसमा र मानिसहरूबीच शरीरबाट उत्पन्न हुने विभिन्न खाले तरल पदार्थको माध्यमबाट सर्ने गर्छ । यो गम्भीर र घातक खालको भाइरस भएको डाक्टरहरूको भनाइ छ ।  

यो भाइरसकाे सङ्क्रमण भएपछि बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, मांशपेसी दुख्ने, रगत मिसिएको बान्ता हुने र रक्तस्राव हुनेजस्ता लक्षण देखिन्छन् । गुफाहरूबाट टाढा बस्न र मासुजन्य खानेकुराहरू उपभोग गर्नुअघि राम्ररी पकाएर मात्र खान डाक्टरहरूले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया