रसुवागढी नाकाबाट ३ सय ९१ टन चिनियाँ खाद्य सामग्री आयात

 साउन ३, २०७९ मंगलबार १०:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३ सय ९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ ।

नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको थियो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामग्रीको प्रयोग गर्ने गरेका छन् । 

आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो १ सय १५ टन आयात भएको छ । 

कार्यालयको तथ्याङ्क अनुसार फल तथा सागपातजन्य १ सय १५ टन, खाद्यान्न दलहन तथा अन्य ४६ दशमलव ९ टन, मसलाजन्य १५, माछा तथा मासुजन्य २६ दशमलव ७५, दूध तथा दूग्धजन्य ८ दशमलव १५, वनस्पति घ्यूजन्य २०, चिया तथा कफीजन्य ५१ दशमलव ०५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमालगायतका १०७ दशमलव ७७ टन खाद्य सामग्री आयात भएको हो । 

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ ।  खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ । 

अहिले एकद्वार प्रणाली लागू भएपछि इम्पोर्ट पर्मिट नलिएकाहरूको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको छ । 

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कार्तिकमा ६, मंसिरमा २८, पुसमा २५, माघमा ४६, फागुनमा ७१, चैतमा २७, वैशाखमा ६, जेठमा १३ र असारमा ४९ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २ सय ३ थान सामग्रीको मात्र परीक्षण भएको थियो। ‘कार्यालय स्थापनाको समयमा मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे’, उहाँले भन्नुभयो, ‘अहिले गुणस्तरहीन सामग्री आएको छैन ।’ 

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० वटाभन्दा बढी गाडी आवतजावत गर्ने गरेका थिए । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया