अब नारायणी नदीले कहिले पनि दुःख दिने छैन : रेनु दाहाल

 साउन ३, २०७९ मंगलबार १३:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब नारायणी नदीले कहिले पनि दुःख नदिने दाबी गर्नुभएकाे छ ।

आज मङ्गलवार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताउनुभयो । नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नुपर्ने अवस्थाको दीर्घकालीन रूपमा समधान भएको मेयर दाहालले दाबी गर्नुभयो । ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उहाँले भन्नुभयो, ‘विगतमा वर्षाको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाख रुपैयाँभन्दा बढीको काम हुने थिएन । तर अहिले पौने पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजको ठेक्का भइसकेको छ । अब शिवघाटदेखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीव्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्ध निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका बस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गर्नुभयो । नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण सङ्घीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उहाँको भनाइ छ ।

विगतको पाँच वर्ष पनि नागरिककाे चाहनाअनुसार विकासका कामलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेस गर्ने गरी काम गर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा भइरहेको सडक निर्माणमा ३० प्रतिशत सडकहरू ठेकेदारको लापर्बाहीका कारण अलपत्र परेको यो विषयमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको धारणा राख्नुभयो । सडक निर्माणको कामलाई निरन्तरता दिन महानगरपालिकाले ठेकेदारहरूलाई कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने लगायतको कामलाई अघि बढाएको मेयर दाहालको भनाइ थियो ।

त्यस्तै मेयर दाहालले भरतपुरको कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएको पनि उल्लेख गर्नुभयो । विषेशगरी पश्चिम चितवनका खेतीयोग्य जग्गामा उत्पादन गर्न सिँचाइका लागि हजारभन्दा बढी बोरिङहरू अनुदानमा वितरण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले अबको केही वर्षमा पश्चिम चितवनमा सिँचाइका कारण कुनै पनि खेत बाँझो राख्न नपर्ने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया