महिला आयाेगले गाेष्ठी, तालिम र दिवस मनाउनमै धेरै खर्च गरेकाे संसदीय समितिकाे निष्कर्ष

 साउन ३, २०७९ मंगलबार १५:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको छ । 

समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले महिला आयोगको खर्च विवरण हेर्दा महिलाको हक अधिकारको प्रवर्द्धन, सुरक्षा एवम् पीडितलाई सहयोग र संरक्षण गर्नुभन्दा पनि अन्तरक्रिया, गोष्ठी, तालिम, सचेतना र दिवस मनाउनमै धेरै खर्च भएको निष्कर्ष निकालेकाे हो । यस्तै महिला आयोगले आफैँभित्र सहकार्य र समन्वय गर्न नसकेका कारण पनि प्रभावकारी कार्य सम्पादन हुन नसकेको समितिले जनाएको छ । 

आयोगले विभिन्न रूपमा पीडित रहेका महिलालाई आयोगसँग पहुँच स्थापित गर्न सक्ने अवस्था सिर्ना नभएको, सम्पर्कमा आएका पीडितले पनि आयोगबाट न्यूनतम सहयोगसमेत नपाएको लगायतका गुनासा प्राप्त भएकाले आयोगले संवेदनशील भएर काम गर्नुपर्ने देखिएको समितिले ठहर गरेको छ । 

बैठकमा सांसद नारायणप्रसाद खतिवडा, विमला नेपाली, गङ्गा चौधरी, अमृता थापा, कृष्णबहादुर राईले आवश्यकताको हिसाबले राष्ट्रिय महिला आयोय अन्य आयोगभन्दा बढी महत्त्वपूर्ण रहेको हुनाले योजनाबद्ध तरिकाले आफ्नो कार्यसम्पादन गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विसं २०७८ साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्म महिलामाथि भएका विभिन्न हिंसाका एक हजार चार सय ६४ घटना दर्ता भएको जानकारी गराउनुभएको थियो । जसमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट घरेलु र महिला हिंसाका गरी एक हजार दुई सय ७६ वटा घटना रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया