संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने

 साउन ३, २०७९ मंगलबार १९:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संसदीय विशेष छानबिन समितिले करकाे दर हेरफेरमा अनधिकृत व्यक्तिकाे संलग्नताबारे तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्नेभएकाे छ । 

आज मङ्गलवार सिंहरबारमा बसेकाे बैठकले भाेलि वा पर्सिभित्रमा शर्मालाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘पूर्व अर्थमन्त्री शर्मालाई बोलाउने मिति तय भएको छैन । बुधवार नै बोलाउने कुरा भए पनि संसद्को बैठकका कारण मिति तय भएन । तर भोलि वा पर्सिभित्रमा उहाँलाई आमन्त्रण गर्छाैँ । समिति अहिले अनुसन्धानकै खोजीमा रहेको छ ।’

सचिव अर्यालले भाेलि बुधवार बस्ने बैठकमा बजेट निर्माण प्रक्रियामा विगतको अर्थ मन्त्रालयको अभ्यासका विषयमा अनुभवी पूर्व अर्थ सचिव र राजस्व सचिवहरूसँग छलफल गर्ने तयारी गरेको बताउनुभयो । त्यस्तै समितिले तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माणमा बाहिरी मान्छे प्रवेश गराएको समाचार बाहिर ल्याउने अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकका सम्पादकसँग पनि छलफल गर्ने तयारी गरेकाे उहाँले बताउनुभयो । 

यस्तै समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नका लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग समितिले यस्ताे सुझाव लिएको हो । अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज डिलिट भएको भन्दै मन्त्रालयको सीसीटीभी सिस्टम नै समितिलाई दिएको समिति सचिव अर्यालले बताउनुभयो । बजेट निर्माण सहयोगी भूमिका खेल्ने मन्त्रालयका सामान्य कर्मचारीदेखि जेठ १३ र १४ गते मन्त्रालयमा खटिने सुरक्षाकर्मीलाई समेत सोधपुछ गरिसकेको उहाँले जानकारी दिनुभयाे । 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । गएकाे असार २२ गते गठन भएकाे समितिले यही बिहीवारसम्म प्रतिवेदन बुझाउनुपर्नेछ । छानबिन प्रक्रिया अन्तिम चरणमा आउँदै गर्दा शर्मामाथि लागेकाे आराेप पुष्टि हुने केही प्रमाण समितिले भेटाएकाे छैन । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया