अर्काकाे रुखबाट झरेकाे पात डाेकाेमा जम्मा गर्नेहरूले एमाले सकियाे भन्न मिल्दैन : ओली

 साउन ४, २०७९ बुधबार १६:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एक भएर अघि बढ्ने बताउनुभएकाे छ । आज बुधवार काठमाण्डाैमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय बृहत् भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

पालिका चुनावमा जस्तो पार्टीका कार्यकर्ता इमानमा नरहने अवस्था अब नआउने र आउँदाे चुनावमा आफ्नो पार्टी विजयी हुने अध्यक्ष ओलीकाे दाबी छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमालेले हार्‍याे भनेर गरेको प्रचारको भ्रममा नपर्न उहाँले पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो । अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरूले पालिका चुनावमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘पालिका चुनाव राम्रो भएन । तर हाम्रा विरोधीहरूले भनेजस्तो पनि हाेइन । अर्काकाे भरमा १०/१५ वटा सिट ल्याएको छ । अर्काको रुखबाट झरेको पात भेला गरेर डोकोमा हालेको छ अलिअलि । अनि त्यो अलिअलि डोकोमा हालेर एमालेको त वनै समाप्त हो भन्ने ? न आफ्नो बिरुवा छ न अरू छ । कसैले हात पेल्ने, कसैले पिँडुला टोक्ने, तिघ्रामा उफ्रीउफ्री भम्टिने सबै गर्दा पनि कांग्रेसभन्दा एक लाख बढी मत एमालेले ल्याएको होला नि । अहिले विभिन्न खोजमेल, गोडमेल, पैँचौ, सापटी गर्दा पनि तीन प्रतिशत पुर्‍याउन नसक्नेले एमाले हार्‍याे भनेर गरेको हल्लाको पछाडि परिरहनु जरुरी छैन ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा आफैँ फुट आउने दाबी गर्नुभयाे । कतिपयले सत्तारूढ गठबन्धन फोडौँ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै त्यो आफैँ फुटेर जाने उहाँले बताउनुभएको हो । उहाँले गठबन्धनमा आबद्ध दलहरू सबै स्वार्थी पुँजीवादी बाटोमा हिँडेकाले उनीहरू कहिल्यै एकताबद्ध हुन नसक्ने तर्कसमेत गर्नुभयो । देश बनाउने पार्टीको महान् उद्देश्यमा त्याे गठबन्धन तगारो बनेकाले आउँदाे चुनावपछि उनीहरूलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसाबले हामीलाई असफल बनाउने, हाम्रा महान् उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनुपर्नेछ । कतिले भन्छन्– यो गठबन्धन फौडौँ । समयक्रममा गठबन्धन आफैँ फुट्छ ।’

अध्यक्ष ओलीले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिरमा हुन नदिने खतरा बढेर गएको आरोप पनि लगाउनुभयो । आउँदाे मङ्सिरभित्र दुवै तहको चुनाव सम्पन्न गर्नुपर्ने भए पनि त्यसलाई पर सार्ने खतरा सत्तारूढ दलहरूबाटै हुने उहाँको आशङ्का थियो । 

अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले देशलाई बरबादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्तिसमेत जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया