रुस र युक्रेनबीच अन्न निर्यात गर्ने विषयमा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

 साउन ७, २०७९ शनिबार १०:१०:३ | एजेन्सी
unn.prixa.net

रुस र युक्रेनबीच अन्न निर्यात खुलाउनेबारे महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुवै पक्ष खाद्यान्नको निर्यात खुलाउन सहमत भएका हुन् ।

सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गर्नुभयो । त्यसपछि अलग्गै टेबलमा युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्दर कुब्राकोभले हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ ।

सम्झौता अनुसार अब युक्रेनी बन्दरगाहमा रोकिएको हजाराैँ टन खाद्यान्न कृष्ण सागर हुँदै विश्व बजारमा निर्यात हुनेछ । यो सम्झौता १ सय २० दिनसम्म लागू हुनेछ । दुई देशबीचकाे याे सम्झाैताले भइरहेको खाद्यान्न अभाव र मूल्यवृद्धिमा कमी आउने अपेक्षा गरिएको छ । दुई पक्षले चाहेको अवस्थामा सम्झौता थप लम्बिन सक्नेछ ।

सम्झौता कार्यान्वयनको सहजीकरण गर्न इस्तानबुलमा एउटा संयुक्त कार्यालय पनि स्थापना गरिनेछ । यो कार्यालयमा संयुक्त राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारी रहनेछन् । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेनबाट विशेषगरी गहुँ, मकै र सूर्यमुखीको तेल निर्यात नहुँदा त्यसको असर विश्वभर परेको छ ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको झन्डै ६ महिनापछि सम्झौता भएको हो । पछिल्लो सम्झौता युद्ध अन्त्यको बाटोमा एउटा महत्त्वपूर्ण सुरूवात हुनसक्ने ठानिएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया