अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

 साउन ७, २०७९ शनिबार १८:३५:२६ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

शनिवार काठमाण्डौमा भएको विपदमा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताउनु भयो । गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो । 

उहाँले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताउनु भयो । उहाँले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताउनु भयो । गृहमनन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्ने पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संसारका कुनै पनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरे पनि नेपालमा त्यसको विपरीत अवस्था रहेको बताउनु भयो । अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपाङ्गहरु आवद्ध रहेको संस्था निरिह अवस्थामा पुग्नु दुःखद् भएको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया