असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाडमा भन्दा तराईमा सुक्खा

 साउन ८, २०७९ आइतबार ८:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरीको बलान बिहुल गाउँपालिकामा लामो समयदेखि परेको खडेरीका कारण माटो सुक्दा धान खेतमा देखिएको धाँजा ।

काठमाण्डाै - धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन ।

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताउनु हुन्छ । उहाँका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन ।

‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो – ‘नेपालको तुलनामा भारतमा गर्मी धेरै हुँदा मनसुनी न्यूनचापीय रेखा भारतमै केन्द्रित भएकाले नेपालमा कम वर्षा भएको हो ।’ यसपालि समयमा नै मनसुन भित्रिए पनि देशभर फैलिन भने समय लागेको थियो ।

नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमा नै भित्रिएको थियो ।  तर मनसुन भित्रिएको एक/दुई दिन पानी परे पनि समग्रमा जुन महिनाभरि खासै पानी नै परेन । यस्तै, जुलाईको अन्तिम हप्ता आइसक्दा समेत राम्ररी पानी पर्न सकेको छैन ।

यो अवधिमा धेरैजसो पहाडी क्षेत्रमा हल्कादेखि मध्यम र केही ठाउँमा ठूलो वर्षा भएको छ । यसले गर्दा पहाडी क्षेत्रमा पहाडी क्षेत्रमा रोपाइँ भए पनि तराईका जिल्लामा खासै पानी नपरेको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार अब पनि तत्काललाई ठूलो वर्षाको सम्भावना छैन । तर, हल्कादेखि मध्यम वर्षाको भने अनुमान गरिएको छ । यसपालि प्रि-मनसुनमा औसतभन्दा धेरै पानी परेको थियो । प्रि-मनसुनको पनि अन्तिम मे महिनामा धेरै पानी परेको थियो । मौसमविद्ले मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेका थिए । तर, मनसुनको अहिलेसम्मको अवधिमा धेरै वर्षा भएको छैन ।  

मनसुनको अवधि बाँकी नै रहेकाले पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविद् बताउँछन् । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा अहिले पनि भारततर्फ नै रहेको छ । यसले गर्दा ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया