अन्न निर्यात गर्न पाउने सम्झौताको केही घण्टामै रुसद्वारा युक्रेनी बन्दरगाहमा आक्रमण

 साउन ८, २०७९ आइतबार ९:२२:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

अन्न निर्यात गर्न पाउनेबारे रुस र युक्रेनले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेको छ ।

पश्चिमी सहर ओडेसामा रुसले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको सेनाले जनाएको छ । युक्रेनी हवाई सुरक्षाका प्रमुखले बन्दरगाहका अन्न भण्डारलाई नियतवश निसाना बनाइएको आरोप लगाएका बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जुजेप बोरेलले यो आक्रमणले रुसले अन्तर्राष्ट्रिय कानुनलाई पूरै बेवास्ता गरेको देखिएको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरसले पनि आक्रमणको निन्दा गरी सम्झौताको कार्यान्वयन निकै महत्त्वपूर्ण हुनेमा जोड दिनुभएको छ ।

यसअघि रुस र युक्रेनबीच भएको सम्झौताको सर्तमा अन्न निर्यातको काम हुँदा बन्दरगाहलाई निसाना नबनाइने विषय उल्लेख छ । महिनौँको युद्धपछि भएको यो सम्झौतालाई  संयुक्त राष्ट्र सङ्घले एउटा आशाको किरणका रुपमा लिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुखले रुसले योजनाबद्ध ढङ्गले खाद्य सङ्कट सिर्जना गरिरहेको आरोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया