'नेपाल भ्रमण दशक' घोषणा गर्ने सरकारको तयारी

 साउन ८, २०७९ आइतबार १३:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेकाे छ । 

आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको 'रिकभरी प्लान' ल्याउने निर्णयअनुसार आइतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । 

कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरूप परिचय पत्र दिने कार्ययाेजना बनाएको पनि जानकारी दिनुभयाे । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनका लागि विदेशी चलचित्र निर्माता र कलाकारहरूलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरूको व्यवस्था गरिने बताउनुभयो । 

उहाँले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि जानकारी दिनुभयाे । सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताउनुभयो । त्यस्तै काठमाडौ उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरूमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताउनुभयो । उहाँले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रूपमा मनाएर पर्यटन प्रवर्द्धन पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशककै रूपमा मनाउँदा पर्यटन प्रवर्द्धन र विकासको अभियान नै भएको बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धन र विकासको अभियान निरन्तररूपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गर्नुभयो । मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको सुनाउनुभयाे । उहाँले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताउनुभयो । 

मन्त्रालयले कोरोना महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणका लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण ६ महिनाभित्र खुला गर्ने तयारी गरेको छ । 

त्यस्तै प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । काठमाण्डाै उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न काठमाण्डाै, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आउँदाे दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । क्लिन नेपाल, ग्रीन नेपालको अवधारणा अन्तर्गत प्रदेश, पालिका, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ एवम् रङ्गरोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरिएको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया