सरकार सत्ता टिकाउनमै केन्द्रित : अध्यक्ष लिङ्देन

 साउन ८, २०७९ आइतबार १८:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । आज आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । 

अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरूपले अभिभावकविहीन भएको बताउनुभयो । उहाँले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरू सामान्य विषय बनेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आज देश एक प्रकारले पूर्णरूपले अभिभावकविहीन बनेको छ । अहिलेकाे सरकार सत्तामा टिक्नका लागि जे पनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेका छन् । त्यस कारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउने, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा हुनुपर्ने समय आएको छ ।’

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरू कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भए पनि एक दिन अहिलेका प्रमुख दलहरू राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गर्नुभयो । आफूले देश र नागरिककाे विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको उहाँकाे भनाइ छ । अध्यक्ष लिङ्देनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशकाे अहिलेकाे समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रूपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको दाबी गर्नुभयाे । उहाँले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको चुनावमा यो मुद्दालाई मुख्य विषय बनाएर नागरिककाे बीचमा जाने उद्घोष गर्नुभयो । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया