दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताउनु भएको छ ।
आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हाे ।
उहाँले पालिकाको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै सङ्घ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब रुपैयाँभन्दा माथि हुने बताउनु भयो ।
प्रचण्डले भन्नुभयो, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र सङ्घको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवी जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।'
प्रचण्डले अहिलेको चुनाव प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताउनु भयो । उहाँले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताउनु भयो ।
उहाँले भ्रष्टाचार संस्थागत हुने कारण चुनाव प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गर्नुभयो । यसबारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको उहाँकाे दाबी छ।
प्रचण्डले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गर्नु भएकाे छ । उहाँले परिवर्तन स्थापित गर्न, संविधान सभाबाट संविधान बनाउन र यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेल्न पार्टी, नेतृत्व, विचार र प्रवृति हाबी नभएसम्म देशले सुख नपाउने जिकिर गर्नुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र र कम्युनिस्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसङ्गति देखापरेको उल्लेख गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।