रुकुम पश्चिम : पहिरोका कारण ३९ परिवार विस्थापित

 साउन ११, २०७९ बुधबार ११:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ र ८ नम्बरका ३९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । लगातारको वर्षाको कारण वडा नम्बर ७ गाराका ३५ घर र वडा नम्बर ८ स्यालाका चार घर पहिरोको उच्च जोखिममा रहेका हुन् । गाउँमा निरन्तर पहिरो झर्न गाउँलेहरु थालेपछि घर छोडेर आफन्तकोमा शरण लिन पुगेका छन् । 

वडा नम्बर ७ का वडा अध्यक्ष अमृत बुढाका अनुसार मङ्गलवार दिनभर पहिरोलाई हटाउनर र थप क्षति हुन नदिन प्रयास भइरहेको छ । गाउँका ३९ वटै घर खाली गरिएको समेत उहाँले जानकारी दिनुभयो । सर्वसाधारण, पशुचौपाया र अन्नपात जोगाएर आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । हिजाे बिहानबाट आउन थालेको पहिरो नरोकिएपछि नेपाल प्रहरीको सहयोगमा डाेजर प्रयोग गरेर पहिरो पन्छाइएको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बुढाका अनुसार राडिज्युला–दाँजे–खदी–वारिङ्गे सडक खण्डबाट निस्केको माटो र ढुङ्गाको कारण राडिज्युला–गारा–सिम्तारा बस्तीको सिँचाइ नहर भत्किएकाले गाउँमा पहिरो आएको हो । पहिरोको कारण वडामा रहेका चार वटा पानीघट्ट र बाटोमा रहेका घुम्ती पसल पुरिएको उहाँले जानकारी दिनुभयो । कतिपय घरका शौचालयहरु समेत पुरिएको बताइएको छ । गाउँमा पसेको पहिरोका कारण कतिपय कच्चीघरहरु भत्किने अवस्थामा रहेको स्थानीयले बताएका छन् । क्षतिको पूर्ण विवरण भने सङ्कलन हुनसकेको छैन । 

पहिरोले वडा नम्बर ७ को गारामा लगाइएको धान, मकै खेती र वडा नम्बर ८ को स्यालामा मकै बारी समेत बगाएको छ । सोमवार बेलुकादेखि निरन्तर परेको पानीले मकै लगाएको बारीसहित वडा नम्बर ८ स्यालाका चार वटा घर पनि पहिरोको उच्च जोखिममा परेका छन् ।

नगरका मेयर रवि केसीले वडा नम्बर ८ स्यालामा नाउलापानीको मुहान फुटेर मकै बालीमा पूर्ण रुपमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा र प्रविर बुढाको मकै बारीमा पूर्ण रुपले क्षति भएको छ ।

त्यस्तै खड्क बुढा, महेन्द्रकुमार बोहाेरा, भिमबहादुर बुढा र हरिबहादुर बुढाको घर पहिरोको उच्च जोखिममा रहेका छन् । रातिमा पहिरो आउन सक्ने सम्भावना भएकोले पहिरो पन्छाउनको लागि डाेजर तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया