अमेरिकी सभामुख पेलाेसीले ताइवान भ्रमण गरेमा त्यसको परिणाम अमेरिकाले नै भोग्नेछ : चीन

 साउन ११, २०७९ बुधबार १८:४३:५२ | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकी सभामुख न्यान्सी पेलाेसीले ताइवानको भ्रमण गरेमा त्यसबाट उत्पन्न हुने सबै क्षतिको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिएको छ ।

अमेरिकी सभामुख पेलाेसीले आउँदो अगष्टमा ताइवानको भ्रमण गर्ने सम्भावना रहेको छ । भ्रमणप्रति कडा आपत्ति जनाउँदै चीनले भ्रमणपछिका परिणाम वासिङ्टनले नै भोग्नुपर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच यसै हप्ता टेलिफोन कुराकानी हुने सम्भावना रहेको बेला चीनको कडा चेतावनी आएको खबरमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पेलाेसीको सम्भावित ताइवान भ्रमणको हामी कडा विरोध गछौँ, यदी अमेरिका अघि बढ्यो र चीनको बटमलाइनलाई चुनौती दियो भने सबै परिणाम अमेरिकाले नै भोग्नेछ ।’

पेलाेसीको भ्रमणलाई अमेरिकाले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । ताइवानलाई चीनले आफू प्रशासित क्षेत्र मान्छ भने अमेरिकाले ताइवान एक स्वतन्त्र देश भएको दाबी गर्दै आएको छ । पेलाेसीले ताइवान भ्रमण गरेमा यो सन् १९९७ पछिको पहिलो सभामुखको भ्रमण हुनेछ । ताइवान, मानव अधिकार र प्रविधिको विषयमा लिएर विश्वका २ वटा मुख्य शक्ति राष्ट्रबीच तनाव बढ्दै गएको छ ।

 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया