सुनसरी : सहकारीले पैसा लिएर भागेपछि बचतकर्ताको बिचल्ली

 साउन १३, २०७९ शुक्रबार १२:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनसरीमा रहेकाे एक सहकारी संस्थाका सञ्चालक ४० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ ।

भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दाेलनमा उत्रिएका छन् । 

४ वर्ष बित्दासमेत बचत गरेकाे रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएकाे उनीहरुले बताएका छन् ।

आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रदर्शन समेत गरेका छन् । उनीहरुले सहकारीका सञ्चालक ३ सयभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । 

सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत सङ्कलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट सङ्कलन गरेर रकम जम्मा गरे पनि सहकारी संस्थाले भुक्तानी दिन आनाकानी गर्दा समस्या भएकाे बताउनु भयो। आफू पटक पटक बचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनु भयो । 

सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट सङ्कलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका बारेमा बचतकर्तासँग मतभेदको अवस्था सिर्जना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताउनु भयो ।

उहाँले अडिट रिपाेर्ट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिने बताउनु भएकाे छ ।  

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया