बीमाकाे रकम लिन युवककाे हत्या, ६ जना पक्राउ

 साउन १३, २०७९ शुक्रबार १४:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो । 

काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक हाे । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् । 

यो समूहले गरिब परिवारका विकको परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराइ दुई करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । उहाँले वार्षिक आम्दानी दुई लाख रुपैयाँमात्रै भएका युवकको दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको बताउनुभयो ।

हत्यापछि इन्सुरेन्सबाट आएको पैसा उनीहरूले बाँडेर लिएका पाइएको सुवेदीले जानकारी दिनुभयो । उहाँले सपना मल्लको खातामा आएको दुई करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार पुगेको बताउनुभयो । त्यो रकमबाट तीन लाख तीन हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, दुई लाख ६९ हजार नौ सय स्वाइप गरेर निकालिएको र पाँच हजार तीन सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताउनुभयो । मृतकसँग एक पटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताउनुभयो । 

दुई करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन विकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठक्कर दिएपछि विकको ज्यान गएको थियो । दुर्घटनामा विकको ज्यान गएपछि क्षेत्रीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिबाना गरी छाडिएको थियो । मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी यो समूहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राज कुमार

    July 30, 2022, 6:18 a.m.

    प्रहरिको अनुसन्धानलाइ सलाम छ, र यस्ता राष्ट्रिय दोषि हरुलाई हदैसम्मको कार्वाहि होस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया