मन्त्रालयकाे स्राेतले भ्याएसम्म गर्नसक्ने काम गरिरहेका छाैँ : मन्त्री रेग्मी

 साउन १६, २०७९ सोमबार १४:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले कम भए पनि बजेट विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो । 

आज साेमवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले खासगरी महिला र बालबालिकाको बेचबिखन र ओसारपसार संवेदनशील विषय भएकाले मन्त्रालयले स्रोत र साधनले भ्याएसम्म त्यस्ता अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र पीडितलाई राहत दिने गरी पुनर्स्थापना केन्द्रलगायतको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयको दायराभित्र रहेका र स्रोत, साधनले भ्याएसम्म गर्नसक्ने काम गरिरहेका छाैँ । मन्त्रालयले कुनै पनि हालतमा यस्ता संदेनशील विषयमा कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता जनाउँदछु ।’

मन्त्री रेग्मीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनलाई यही संसदबाटै पारित गराउने गरी तयारी गरिरहेको पनि जानकारी दिनुभयो । 'फास्ट ट्र्याक' बाट त्यसलाई अघि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

बैठकमा बोल्दै गृह सचिव टेकनारायण पाण्डेले मनोरञ्जनको क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा रोकथामका लागि सरकारले आवश्यक सुरक्षाकर्मीको परिचालन गरेको बताउनुभयो । मानव बेचबिखन हुन नदिन पालिकालाई जिम्मेवार बनाउने गरी गृह मन्त्रालयले काम गरिरहेको पनि उहाँको भनाइ थियो ।

सचिव पाण्डेले मानव बेचबिखनजस्ता अपराधजन्य काम हुन नदिन सरकारले जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया