आज नाग पञ्चमी : पूजाआजा गरी ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

 साउन १७, २०७९ मंगलबार ६:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ।

आजको दिन काठमाण्डौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरिका नागदह तथा कुण्डमा विशेष पूजा हुनेगर्छ।

यसैबीच, मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदैछ।

नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। मिथिलामा घरमूली गृहिणीले ‘लगपाँच’ का दिन बिहानै स्नान गरेर भित्तामा नागचित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन्।

‘लगपाँच’ लगत्तै राखि अर्थात रक्षाबन्धन, कुशेऔँशी, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँ/तिहार र छठ पर्व आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको छ। 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया