अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

 साउन १७, २०७९ मंगलबार १४:३४:४२ | एजेन्सी
unn.prixa.net

अमेरिकी सभामुख पेलाेसी, तस्बिर : एजेन्सी

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ । चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने वा ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू समावेश हुन सक्ने किर्वीले बताउनुभएको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी एसिया भ्रमणमा हुनुहुन्छ । सिङ्गापुर भ्रमणबाट मलेसिया पुग्नुभएकी पेलोसी आज राति सुटुक्क ताइवान जान सक्ने खबर ताइवानी सञ्चारमाध्यमले दिएका छन् । तर अमेरिकी सरकारले पेलोसीको ताइवान भ्रमणको पुष्टि गरेको छैन । ताइवानलाई चीनले आफ्नो भूमि दाबी गर्दै आएको छ । चीनका संयुक्त राष्ट्र सङ्घका दूत झाङ जुनले यो भ्रमणले बेइजिङ र वाशिङ्टनबीचको सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ ।

पेलोसीले लामो समयदेखि चिनियाँ नेतृत्वको आलोचना गर्दै आउनुभएको छ । चीनले मानव अधिकारको उल्लङ्घन गरेको र बेला–बेला नरसंहार मच्याउँदै आएको अभिव्यक्तिका कारण सभामुख पेलोसीलाई चीनमा निकै खराब नजरले हेर्ने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया