एक वर्षमा सगरमाथा क्षेत्रमा १३ विदेशी नागरिककाे ज्यान गयाे, २ जना बेपत्ता

 साउन १७, २०७९ मंगलबार १९:५१:४६ | सुवास दर्नाल
unn.prixa.net

सगरमाथ बेस क्याम्प

सोलुखुम्बु – एक वर्षको अवधि (२०७८ को जेठदेखि ०७९ को जेठसम्म) मा खुम्बु भ्रमणमा आएकामध्ये १३ जना विदेशी नागरिककाे ज्यान गएकाे र दुई जना बेपत्ता भएका पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक पूर्णप्रसाद दहालका अनुसार २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर वैशाख ३० गते ४३ वर्षीय बेलायती नागरिक र स्विट्जरल्यान्डका ४१ वर्षीय पुरुष, जेठ ८ गते बेलायती नागरिकहरू ६१ र ३४ वर्षका पुरुषकाे ज्यान गएकाे थियाे । असोज २९ गते भारतकाे केरलाका २० वर्षीय पुरुष र कात्तिक १९ गते बेलायती नागरिक १९ वर्षीय युवकको लेक लागेर बेस क्याम्प क्षेत्रमा ज्यान गएकाे थियाे । यस्तै कात्तिक २१ गते दुई जना २७ र एक जना ३४ वर्षका गरी तीन जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर ज्यान गएकाे पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ । 

२०७९ वैशाख ६ गते रुसी नागरिक ५५ वर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र वैशाख २२ गते ५५ वर्षीय भारतीय नागरिकको गोक्योमा लेक लागेर ज्यान गएकाे प्रहरीकाे तथ्याङ्कमा उल्लेख छ । वैशाख ३१ गते क्यानडेली ५० वर्षीय पु्रुषकाे स्याङबोचेमा सुतेकै अवस्थामा ज्यान गएकाे र जेठ २० गते बेलायती १९ वर्षीय किशाेरले खुम्बुमा झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । यस्तै गएकाे जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

खुम्बु क्षेत्रमा ज्यान गुमाएका तथा बेपत्ता भएका धेरैजसाे विदेशी पर्यटक गाइड तथा सहयोगीविना एक्ला–एक्लै भ्रमणमा आएकाहरू रहेका पर्यटक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया