चीनको चेतावनीकाबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा

 साउन १८, २०७९ बुधबार ७:१०:२० | एजेन्सी
unn.prixa.net

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुग्नुभएको छ । उहाँ गएराति उच्च सुरक्षाकाबीच ताइपेइको विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

पेलोसी ताइवानको संसद् भवन पुग्नुभएको छ । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यो भ्रमणलाई निक्कै महत्वपूर्ण मानिएको छ । अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले पनि सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउँदै आएको छ । पेलोसीको भ्रमणलाई चीन र रुसले विरोध गरेका छन् । यो भ्रमणबारे गएको हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच एक घण्टा लामो फोन कुराकानी भएको थियो ।

चीनको परराष्ट्र मन्त्रालयले पनि पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ । चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता गम्भीर उल्लंघन गरेको पनि चीनले जनाएको छ । ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए । पेलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एसियाको भ्रमण सुरु गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया