सप्तकोसी बाढी प्रभावितलाई एकद्वार प्रणालीबाट राहत वितरण गरिने

 साउन १९, २०७९ बिहिबार ८:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सप्तकोसीको बाढीबाट प्रभावितका लागि एकद्वार प्रणालीबाट राहत सङ्कलन गर्ने र एकद्वार प्रणालीबाटै राहत वितरण गरिने भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर प्रभावितहरुलाई एकद्वार प्रणालीबाट राहत सङ्कलन गरी वितरण गरिने जनाएको हो । राहत सङ्कलनको काम सुरु भइसकेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले बताउनुभयो ।

राहतका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल र एक थान हेल्मेट उपलब्ध गराएको छ । उदयपुर र सुनसरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी वा प्रमुख जिल्ला अधिकारीले तोकेका अधिकृत र दुवै नगरपालिकाका मेयरको संयोजनमा राहत वितरण गरिने विज्ञप्तिमा भनिएको छ।

सप्तकोसी नदीमा पानीको सतह केही कम भएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अस्ति राति र हिजोको तुलनामा आज पानी केही कम भएको छ । हिजो बिहान सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन्।

सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया