७ महिनामा झन्डै ३ लाख जना पर्यटक नेपाल आए

 साउन १९, २०७९ बिहिबार १७:३४:५७ | रासस
unn.prixa.net

मर्दी हिमाल ट्रिक, तस्बिर : एनटीबी

काठमाण्डाै – सन् २०२२ को सात महिनामा झन्डै तीन लाख जना विदेशी पर्यटक नेपाल आएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जुलाईमा छिमेकी देश भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ जना पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ जना पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य देशबाट चार हजार एक सय ९५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्य–पूर्वलगायत देशबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

कुन महिनामा कति पर्यटक भित्रिए ?

बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार ६, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डले छिमेकी देश भारत, बङ्गलादेशसहित एसिया, मध्य–पूर्वी एसियाका स्रोत बजारमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किएको सङ्केत गरेको बताउनुभयो । 

उहाँले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गर्नुभयो । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियनलगायत देशबाट पर्यटक आगमन बढेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया