ताइवानी सिमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई अमेरिकाको चेतावनी

 साउन २०, २०७९ शुक्रबार ८:५७:४७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाले ताइवानी सीमानामा तनाव बढाएर सङ्कट ननिम्त्याउन चीनलाई चेतावनी दिएको छ ।

विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अहिलेको सैन्य अभ्यास रोक्न र अबका दिनमा थप तनाव बढाउने काम नगर्न चेतावनी दिनुभएको हो । उहाँले तनावले चीन तथा यस क्षेत्रका कसैको पनि हित नहुने बताउनुभयो । साथै उहाँले अमेरिका अहिले पनि एक चीन नीतिको पक्षमा रहेको दोहोर्याउनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले पनि चीनसँग तनाव बढाउने पक्षमा नरहेको जनाएको छ । तर चीनले पछिल्लो परिस्थितिका लागि अमेरिका दोषी रहेको र सैन्य गतिविधि आवश्यक भएको समेत जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै चीनले ताइवानमा क्षेप्यास्त्र प्रहार गरेको छ ।

हिजोदेखि ताइवान आसपासको क्षेत्र जल तथा उडान क्षेत्रमा युद्ध अभ्यास भइरहेको छ । यो अभ्यास सोमवारसम्म चल्नेछ । चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

यो सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ । दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान)ले एक विज्ञप्ति निकालेर चीन र अमेरिका दुवैलाई अधिकतम संयमता देखाउन आग्रह समेत गरेको छ।

आसियान समूहमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम रहेका छन् । जवाफमा चीनले दक्षिणपूर्वी एसियाली देशहरुसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग भएको भेटमा सम्बन्धलाई बिग्रन नदिने बताउनुभएको समाचार संस्था एपीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया