अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने चीनको घोषणा

 साउन २१, २०७९ शनिबार ६:५२:५५ | एजेन्सी
unn.prixa.net

चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको हो ।

बेइजिङले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उहाँको परिवारलाई पनि प्रतिबन्ध लगाउने भएको छ । तर, कस्ता प्रतिबन्ध लगाइएका हुन् स्पष्ट नपारिएको बीबीसीले जनाएको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।

जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना मात्रै बनाएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास आज तेस्रो दिन पनि निरन्तर छ । यो अभ्यास पर्सिसम्म चल्नेछ । अमेरिकाले चीनको सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया