अर्थमन्त्रीकाे मातहतमा कुनै कर्मचारी बस्न चाहेनन्, सचिव नै भाग्ने अवस्था आयाे : ज्ञवाली

 साउन २२, २०७९ आइतबार १३:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गर्नुभएको छ । ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उहाँको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकिरसमेत गर्नुभयो । 

आज  आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिव नै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नबाेलेको भनी प्रश्न गर्नुभयो । कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरू हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भइरहेका छैनन् भन्ने समाचार सञ्चारमाध्यममा आयाे । अहिले राजस्व सचिवको रूपमा भूमिका निर्वाह गरिरहनुभएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ । कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो । तर आज यो सरकारको क्रियाकलापले त्यहाँ काम गरिरहेका सचिवहरू सरुवा माग्ने, अरू कर्मचारी त्यहाँ बस्न नचाहने स्थिति सिर्जना भएको छ । बजेटमा करका दर हेरफेर गरेकाे भन्ने सम्बन्धमा छानबिन समितिले एउटा रिर्पोट दिइसकेको छ । छानबिन समितिले सम्पूर्ण अङ्गहरू पूरा गर्न पाएन । तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्ने हाे, त्यो विधि पालना भएन । अधुरो, अपुरो अध्ययनको आधारमा रिर्पाेट आयो । त्यसको परिणाम आज अर्थ मन्त्रालयमा कर्मचारीहरू भागाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । अर्थमन्त्रीजी घरी गभर्नर, नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गर्नुहुन्छ । घरी उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँ कतै पोल्दैन ? ’

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया