चुनावमा सबै उम्मेदवारकाे समान हैसियत हुने गरी समाचार दिनुहाेस् : प्रमुख आयुक्त थपलिया

 साउन २४, २०७९ मंगलबार १९:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सबै उम्मेदवारलाई समान स्थान दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदाे चुनावमा त्यस्तो विभेद नगरि समाचार प्रसारण/प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको हाे । 

पालिका चुनाव २०७९ को प्रगति समीक्षा गर्नका लागि आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफैसँग साझेदारी गरिरहेको सञ्चारमाध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराउनुभयो । उहाँले पालिका चुनावमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा नहुने पनि स्पष्ट पार्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढङ्गले, सबैलाई समान व्यवहार गर्ने ढङ्गले समाचार, सूचना सम्प्रेषण गरिदिनु पर्‍याे । तपाईँहरूले कसलाई कसरी सर्पोट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौँ । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनु पर्‍याे । तपाईँहरूलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी सूचना प्रसारण/प्रकाशन गर्दा पनि सञ्चारमाध्यमले सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई समान हैसियतअनुसारको व्यवहार गर्नुपर्ने बताउनुभयो । 

प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव आउँदाे मङ्सिर ४ गते आइतवार हुने तय भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया