कोरोनाको सक्रिय सङ्क्रमित बढ्दै, सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’

 साउन २६, २०७९ बिहिबार ७:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय नाघेको छ । हिजो थप ८ सय ६८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा ३ हजार ९ सय ५६ जना छन् । यस्तै ललितपुरमा ८ सय ४६ र भक्तपुरमा १ सय १ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला काठमाण्डौ र ललितपुर तथा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला मोरङ रहेको छ ।

मनाङ, कालीकोट र हुम्लामा सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड-१९ सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएकोले सबैलाई खोप लगाउन अपिल गरेको छ । सङ्क्रमण बढ्दो क्रममा रहेकाले खोप लगाउनुका साथै मास्क लगाउने, भौतिक दूरी कायम राख्ने तथा बेलाबेला स्यानिटाइजर लगाउने बानी नछाड्न डाक्टरहरुले पनि सुझाव दिँदै आएका छन्।

यसैबीच सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु हुन लागेको छ ।

अभियानअन्तर्गत मानिसको भिडभाड बढी देखिने सार्वजनिक ठाउँमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अभियानमा आफ्नो स्वास्थ्य अवस्था र अन्य विभिन्न कारणले खोप केन्द्रसम्म पुगेर खोप लगाउन नसक्ने व्यक्तिलाई समेत समेट्न लागिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशीले बताउनुभयो ।

रोकथामका लागि सबै अस्पतालमा आवश्यक पर्न सक्ने अक्सिजन, टेस्ट किटको कमी हुन नदिने भेन्टिलेटरको समेत व्यवस्था गरिएको जोशीले बताउनुभयो । नेपाल–भारत बीचको खुला सिमानाका कारण भारतमा कोरोना बढ्दा नेपालमा पनि बढ्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया