डेङ्गीका बिरामी बढ्दै : ६० जिल्लामा सङ्क्रमण पुष्टि, डेङ्गीका बिरामी ललितपुर र रुपन्देहीमा धेरै

 साउन २६, २०७९ बिहिबार ८:११:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेङ्गी भएको जानकारी दिनुभयो । गएको वर्षको यो अवधिमा ५ सय ४० जनालाई डेङ्गी भएको थियो । यसपालि छिट्टै पानी पर्न थालेकाले लामखुट्टेलाई वृद्धि विकास गर्ने वातावरण बन्दा डेङ्गी पनि फैलिएको डाक्टर गौतमले बताउनुभयो ।

डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ । अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेङ्गीका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी फैलिने जोखिम अब झन् धेरै रहेको छ ।

अघिल्ला वर्षहरुमा भदौदेखि सङ्क्रमण बढेको देखाएकाले पनि सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । यसअघिका तथ्याङ्कले कात्तिक महिनाको अन्तिमसम्म पनि डेङ्गीका बिरामी भेटिएका देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पानी पर्ने र घाम लाग्ने क्रम नरोकिएकाले पनि डेङ्गीको जोखिम बढेको छ।

विशेषगरी, विद्यालय परिसर, होटल, कार्यालय, गाडी बनाउने वर्कशप भएका ठाउँमा डेङ्गीको जोखिम बढेको देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले जानकारी दिनुभयो ।

डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस जातका पोथी लामखुट्टेको टोकाइका कारण मानिसमा डेङ्गी सर्छ । डेङ्गी लागेमा बिरामीको रक्तकोष घट्न जान्छ । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्न गइ बिरामी सिकिस्त हुन्छन् । कडा खालको डेङ्गीको बेलैमा उपचार नगरे बिरामीको ज्यानै जाने जोखिम हुने डाक्टरले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट जोगिन सके यो रोग लाग्न पाउँदैन । डेङ्गी फैलाउने लामखुट्टेले सफा पानीमा फूल पार्छ । त्यसैले पानी थापेर राख्दा राम्रोसँग छोप्न र एक हप्ताभन्दा लामो समयपछि त्यो पानी फाल्न डाक्टरको सुझाव छ।

फूलदानी, गमला, टायर, बाल्टिन जस्ता पानी जमेका ठाउँमा डेङ्गी सार्ने लामखुट्टेले फूल पार्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । घर छेउछाउमा पानी जम्न नदिन र लामोसमयसम्म पानी जम्मा नराख्न डाक्टर मरासिनीको सुझाव छ ।

ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने जस्ता डेङ्गीका लक्षण हुन् । यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय भएको डाक्टरले बताएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया