विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा पछि नलागाैँ, स्वास्थ्य ठूलाे हाे : हमाल

 साउन २६, २०७९ बिहिबार १६:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अभिनेता राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । 

आज बिहीवार नेपाली उपभोक्ता संरक्षण महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए । हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवम् लताकपडाभन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने उनकाे भनाइ छ । 

उनले भने, ‘हामी आधुनिकतामा यसी बहकिएका छौँ कि हामीले उपभोक्ताको हिसाबले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । हामीले कस्तो सामग्री प्रयोग गरिरहेका छौँ ? हामी विज्ञापनको पछि लागिरहेका छौँ । त्यो खानेकुरा वा लगाउने कुरा नै किन नहोस् । हामीले कस्तो सामग्रीमा खर्च गरिरहेका छौँ भन्नेमा सावधानी अपनाउन आवश्यक छ । हामीले प्रयोग गरेको वस्तु गुणस्तर छ कि छैन भन्ने कुराको ध्यान दिनु आवश्यक छ । आजको स्थितिमा खतराको घण्टी नै बजिसकेको छ तर हामी अझै सचेत हुन सकेका छैनौँ । हामी खानेकुराको गुणस्तर पहिचान गर्न सकिरहेका छैनौँ । स्वास्थ्यमा सचेत हुन सकेका छैनौँ । स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खानेकुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र मान्छेले खानेकुरा त जमिनबाट उत्पादन गर्नुपर्छ ।’ 

हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइरहेको भन्दै कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा पछि नलाग्न सचेत गराए । स्वास्थ्यमा खतरा भइसक्दा समेत उपभोक्ता सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासङ्घले यसमा पहलकदमी थाल्नुपर्ने उनको भनाइ छ । 

हमालले प्याक गरिएका खाद्य सामग्री स्वास्थ्यलाई बेवास्ता गर्दै स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । उनले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहको बहिष्कार गर्न आवश्यक रहेको बताए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया