सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक निष्कर्षविहीन

 साउन २६, २०७९ बिहिबार १७:३६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको आज बिहीवारको बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २०७४ सालकै नतिजाका आधारमा सिट भागबन्डा गर्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले भने पालिका चुनावको लोकप्रिय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

आज बैठकमा सिट बाँडफाँटको मोडालिटीमाथि छलफल भएको र सैद्धान्तिक रूपमा सहमति पनि भएको माओवादी नेता देव गुरुङले बताउनुभयो । गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सिट जितेका छन् ती कायम राखेर एमालेले जितेका सिट बाँडफाँट गर्नुपर्ने अडान राखेको बताउनुभयो । तर कांग्रेसले भने पालिका चुनावलाई मुख्य आधार बनाउन खोजेको छ ।

आउँदो मङ्सिर ४ गतेको चुनावका लागि सिट बाँडफाँटको टुङ्गो लगाउने गरी आउँदाे सोमवार फेरि बैठक बस्ने गुरुङले बताउनुभयो । चुनावमा तालमेलका लागि सिट बाँँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया