मनसुनी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्‍याे ?

 साउन २७, २०७९ शुक्रबार १७:४९:३४ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका धेरैजसाे ठाउँमा अहिलेसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगस्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कुल ७७ वटा केन्द्रको तथ्याङ्कमा त्यही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ । जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले अनुमान गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगस्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ ।

हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता अहिलेसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात् ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिनुभयो । यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उहाँले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने अनुमान गरिएको बताउनुभयो ।

प्रदेश नं १ र बाग्मती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गएकाे जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताउनुभयो । 

महाशाखाको पछिल्लो विवरणमा अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतवार र पर्सि साेमवार मौसम बदली भइ देशका धेरेजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया