निहारिका राजपुतको माग पूरा गर्न र न्याय दिन चौतर्फी दबाब

 साउन २८, २०७९ शनिबार ६:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ ।

आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो ।

निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन । महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर गएको जेठ २७ देखि माइतीघर र वसन्तपुरमा धर्ना र अनसन बस्नुभएको थियो । उहाँसँग असार ३ गते माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाणले अनसन तोड्नुभएको थियो ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने र अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उहाँले फेरि अनसन सुरु गर्नुभएको थियो ।

गएको साउन २० गते सिंहदरबार दक्षिण ढोकाअघि आमरण अनशनमा बस्ने प्रयास गरेपछि प्रहरीले पक्राउ थियो । त्यसपछि हिजो वसन्तपुरबाट ट्याक्सी चढेर छोरासहित महाराजगञ्ज पुगेकी निहारिकाले ट्याक्सीबाट ओर्लिएलगत्तै हातमा बोकेको बोतलबाट शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । निहारिकाले आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएकोले आत्मदाहको बाटो रोजेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया