आज देशभरको मौसम बदली : वाग्मती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन २८, २०७९ शनिबार ७:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज देशभरको मौसम बदली रहेको छ । आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज वाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ ।

मनसुन सुरु भएपछि अहिलेसम्म देशका धेरै ठाउँमा सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ अर्थात् जुन १ देखि अगष्ट ११ सम्म ८ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिलेसम्म विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मक रूपमा तराई क्षेत्रमा कम वर्षा भएको छ ।

प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी वर्षा भएको छ । तर मधेस प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदर भन्दा कम वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा धेरै वर्षा हुने यसअघि नै प्रक्षेपण गरेको थियो।

विभागको हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यो वर्षको मनसुनको औसत सरदर वर्षा १ हजार ४ सय ६२ मिलिमिटर हुने प्रक्षेपण छ । मनसुन अवधिमा १ हजार ५ सय मिलिमिटर हाराहारी वर्षा हुनेगर्छ । अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको उहाँको भनाइ छ ।

नेपालमा यो वर्ष गएको जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया