अमेरिकाका पाँच सांसद ताइवानमा, चीनका ११ वटा जहाज ताइवानको क्षेत्रमा प्रवेश

 साउन ३०, २०७९ सोमबार १३:५९:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

अमेरिकी संसद्को पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि संसद्का पाँच जना सदस्य ताइवान पुगेका हुन् ।

ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनीहरु दुई दिनसम्म ताइवानमै रहने बताएको छ ।

डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्नेछन् ।

समूहले राष्ट्रपति साइ इङ–वेनलाई भेट्ने कार्यक्रम रहेको छ । यसै महिनाको सुरुमा पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो ।

चीनले स्वशासित ताइवान टापुलाई आफ्नै क्षेत्रको रूपमा हेर्छ र चीनको भूमिसँग पुनर्मिलन हुनुपर्छ भन्दै आएको छ । यसको लागि बल प्रयोग गर्न पनि तयार रहेको चीनको भनाइ छ । अमेरिकी नेताहरुको भ्रमणकै बेला चीनले ताइवान नजिकै पुनः सैन्य अभ्यास गरिरहेको छ ।

ताइवान स्ट्रेट र वरपर २२ चिनियाँ विमान र ६ वटा नौसैनिक जहाजहरूले अभ्यास गरेकोमा ११ वटा जहाज ताइवानको वायु क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकाले ताइवानलाई आधिकारिक रूपमा मान्यता दिएको छैन । तर ताइवानसँग बलियो सम्बन्ध कायम राख्दै आएको छ ।

अमेरिकाले ताइवानलाई आफ्नो रक्षा गर्न हतियार बेच्ने सम्झौता गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया