वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी, घाटा बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुग्यो

 साउन ३१, २०७९ मंगलबार १४:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेथिति र आन्दोलनका कारण धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासायी बन्दै गएको छ ।

नेपालकै प्रतिष्ठित र पूर्वी नेपालको सबैभन्दा ठूलो तथा अत्याधुनिक उपचार सेवा दिने प्रतिष्ठान राजनीतिक नियुक्ति, आर्थिक अनियमितता र आन्दोलनका कारण धरासायी  बन्दै गएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्ला ३ वटा आर्थिक वर्षदेखि घाटामा गइरहेको छ । प्रतिष्ठानको घाटा अहिले १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । प्रतिष्ठानले आज स्वेतपत्र जारी गरेर आर्थिक अवस्था निकै खराब अवस्थामा पुगेको जनाएको छ । यस्तै अवस्थामा लामो समय प्रतिष्ठान सञ्चालन गर्न अप्ठ्याराे पर्ने स्वेतपत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा प्रतिष्ठानले २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेकोमा २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च हुँदा २९ करोड रुपैयाँभन्दा धेरै घाटा बेहोरेको थियो । यस्तै, २०७७/२०७८ मा ९१ करोड ४३ लाख र गएको आर्थिक वर्ष २०७८/२०७९ मा प्रतिष्ठानले ४१ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

३ वर्ष अघिसम्म प्रतिष्ठानले वार्षिक ५८ करोड ६६ लाख रुपैयाँसम्म नाफा कमाएको थियो । श्वेतपत्रमा कोरोना महामारीको प्रभावले बिरामीको चाप घटेको र एक शैक्षिक शत्रमा विद्यार्थी भर्ना नै हुन नसकेको कारण आम्दानी घटेको उल्लेख छ ।

भारत सरकारको सहयोगमा २०५० सालमा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केही वर्ष नेपालकै उत्कृष्ट मध्येको एक स्वास्थ्य संस्था रहेको थियो । प्रतिष्ठान स्थापना भएपछि पूर्वी नेपालका बिरामीलाई काठमाण्डौ आउने बाध्यता हटेको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया